माओवादीले बहुचर्चित कोशी उच्चबाँधको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने क्रममा बाँध निर्माणस्थल, धनकुटाको आहालेस्थित सुनाखम्बी खोलाको दोभानमा ड्रिलिङ गर्न लैजान लागिएका मेसिनहरू बराहक्षेत्रमा रोकेर राखेका छन् । उनीहरूले रु.५ लाख चन्दा दिएमा सम्बद्ध पक्षलाई ती सामान लैजान दिने शर्त राखेका स्थानीय बासिन्दाहरू बताउँछन् ।

मेसिनहरू रेखदेख गर्न राखिएका पुण्य भट्टराई (हे. तस्बिर) भन्छन्, “सामान यहीँ थुपारिएको छ । अब उनीहरूसँग कहिले कुरा मिल्छ, अनि छाड्लान् ।” चतरा बजारदेखि मोटरमा हालेर ल्याइएका ती समान ‘अहिले नलानू, हामी बुझछौँ’ भनेर माओवादीले रोकेका थिए । नेपाल–भारतबीच सन् १९९७ मा भएको सहमतिको आधारमा बराहक्षेत्रबाट चार किलोमिटर उत्तरमा निर्माण गर्ने भनिएको २६९ मिटर अग्लो कोशी उच्चबाँधको अध्ययनको सिलसिलामा केही महिनादेखि चतरादेखि बराहक्षेत्रसम्म एक दर्जनभन्दा बढी ठाउँमा ड्रिलिङ गरेर र बाँध निर्माणस्थलमा बनाइएका सुरुङहरूमा पसेर माटोको परीक्षण गर्ने आदि कामहरू भइरहेका छन् ।

धरान, चतरा, विराटनगर, जनकपुरलगायतका ठाउँमा कोशी उच्चबाँधसँग सम्बन्धित बिना साइनबोर्डका कार्यालयहरू खोलिएका छन्, जहाँ कसैलाई छिर्न र सोधपुछ गर्न दिइँदैन । सरकारले पनि बाँध निर्माणबाट नेपाललाई के कस्ता फाइदा, बेफाइदा हुन सक्छन् भन्ने कुरालाई बहसको विषय बनाएको छैन । यिनै कारणले विभिन्न संघसंस्था र वातावरणविद्हरूले विरोध गर्दै आएका कोशी उच्चबाँधको बारेमा मूलधारका राजनीतिक दलझैँ माओवादी पनि मौन नै छन् । माओवादीसँग सहकार्य गर्दै आएको किराँत वर्कर्स पार्टीले गएको असोजमा कोशी उच्चबाँधको अध्ययनका लागि धरानमा खोलिएको कार्यालयमा बम विष्फोट गराएको थियो ।

गोपाल दाहाल, बराहक्षेत्र

१–१५ पुस २०६२ | 16-30 Dec 2005 काे हिमाल खबरपत्रिकामा प्रकाशित