संयोगवश डिसेम्बर १८ अर्थात विश्व आप्रवासी दिवसकै दिन विश्वकप फुटबलको फाईनल प्रतिष्पर्धा हुँदैछ । यो अवसरमा नेपाल सरकारले ज्यान गुमाउने आफ्ना नागरिकका विषयमा आवाज उठाउनु जरुरी छ ।

अहिले कतारमा फिफा विश्वकप फुटबल प्रतियोगीता सञ्चालन भईरहेको छ । विश्वभरका फुटबलप्रेमीहरुले यसलाई एउटा उत्सवका रुपमा मनाईरहेका छन् । नेपालमा पनि घर घर र सार्वजनिक स्थलहरुमा विश्वकपको प्रत्यक्ष प्रशारण हेर्नेहरुको भीड लाग्ने गरेको छ । तर धेरैले याद नगरेको कुरा के हो भने, यो विश्वकपमा हजारौं श्रमिकको रगत र आँशु मिसिएको छ ।

कतारमा विश्वकपका लागि संरचना निर्माण गर्ने क्रममा हजारौं श्रमिकले ज्यान गुमाएका छन् । त्यसरी ज्यान गुमाउनेका परिवारले अहिलेसम्म उचित क्षतिपूर्ति पाउन सकेका छैनन् । टाईम, द गार्जियन लगायतका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले हजारौं आप्रवासी श्रमिकहरुको ज्यान गुमाएको रिपोर्ट प्रकाशित गरेका छन् । त्यसरी ज्यान गुमाउनेमा नेपालीहरुको सङ्ख्या पनि ठूलो छ । रिपोर्टहरुमा सार्वजनिक विवरण अनुसार सन् २०१० देखि २०२०सम्म विश्वकपका लागि रङ्गशाला निर्माणका क्रममा ६ हजार ५ सय भन्दा बढी मजदुरको ज्यान गएको थियो । त्यसमा २ हजार ८ सय नेपाली मजदुर परेका छन् । उनीहरुका परिवारलाई विभिन्न बाहनामा क्षतिपूर्ति पाउनबाट बञ्चित गरिएको छ । कतारमा भएको लापरबाहीका कारण ज्यान गुमाएका मजदुर र उनको परिवारको पक्षमा नेपाल सरकारले आवश्यक पहल गर्न सकेको छैन ।

रंगशाला निर्माणका क्रममा कतारले असुक्षित रुपमा कामदार प्रयोग गर्दा धेरैले ज्यान गुमाउनु प¥यो, त्यसैले ति रङ्गशालाहरुमा कामदारहरुको रगत लत्पतिएको छ । अर्कातिर त्यसरी रङ्गशाला निर्माणका क्रममा अकालमा ज्यान गुमाउन पुगेका मजदुरका परिवार अहिलेसम्म पीडामा छन् । विश्वकप हेरेर अरुले उत्सव मनाईरहँदा उनीहरुको आँशुको वेवास्ता भईरहेको छ । यस विषयमा विश्वका मानवअधिकारवादी संस्थाहरुले पनि आवाज उठाईरहेका छन् । तर नेपाल सरकारले यो विषयलाई प्राथमिकतामा राखेको पाईंदैन । नेपालको प्रमुख आयस्रोतका रुपमा पर्छ रेमिट्यान्स । आम नेपाली श्रमिकहरुले विभिन्न देशमा गएर रगत र पसिना बगाएर पठाएको रेमिट्यान्सको हिसाब राखेर देश चलाउने सरकारले उनीहरुका दुख पीडामा आवश्यक रुपमा साथ सहयोग गरेको पाईंदैन । नेपाली मजदुरहरु रोजगारीका लागि विदेश जानुअघि बाटै दलालहरुबाट ठगिने गरेका छन् ।

सरकारले निशुल्क भिसा र निशुल्क टिकट भनेपनि त्यस्तो सूविधा आम श्रमिकले पाउन सकेका छैनन् । म्यानपावर कम्पनीका एजेन्टहरुले सुरुमै लाखौं असुल्ने गरेकाले उनीहरु महँगो ब्याजदरमा ऋण लिएर विदेश जान्छन् । विदेशमा पुगेपछि पनि एजेन्टहरुले नेपालमा देखाएको आश्वासन विपरित जोखिमपूर्ण काममा लगाउने र तलब सुविधा कम दिने, कतिलाई तलबै नदिएर पठाउने गरेका घटना अहिलेपनि सार्वजनिक भईरहन्छन् । विदेशमा लगाईने जोखिमपूर्ण कामका कारण विभिन्न समस्याले ज्यान गुमाउने मजदुरहरुको पीडा सरकारले बुझ्न सकेको छैन । विभिन्न खोजमुलक रिपोर्टहरुमा उल्लेख भए अनुसार कतारमा मृत्यु भएका नेपालीहरुलाई त्यहाँका अस्पतालहरुले समान्य मृत्यु उल्लेख गरेका छन् । उनीहरु लगातारको खटाई र असुरक्षित वातावरण, खानपान जस्ता कारण मृत्युको मुखमा पुगेको विभिन्न प्रतिवेदनले पनि उल्लेख गरेका छन् । तर नेपाल सरकार किन यो विषयमा मौन छ ?

कतार विश्वकपका लागि रङ्गशाला निर्माण गर्ने क्रममा ज्यान गुमाउनेहरुमा नेपाल, भारत, बंगलादेश लगायत दक्षिण एसियाली मुलुकका नागरिक धेरै छन् । उनीहरुका परिवारको पीडामा मल्हम लगाउन सम्बन्धित देशका सरकारले पर्याप्त पहल गरेको पाईंदैन । नेपाल सरकारले त झन् यस विषयमा गम्भीरता देखाएको छैन । नेपालका ठूला मिडिया र सामाजिक क्षेत्रबाट पनि नजर अन्दाज गरिएको भनेर सामाजिक सञ्जालमा आवाज उठिरहेको छ । रङ्गशाला निर्माणका क्रममा ज्यान गुमाएका श्रमिकहरुका परिवारले न्याय पाउनुपर्छ । त्यसका लागि अन्तर्राष्ट्रिय जगतमा आवाज उठाउन ढिला भईसक्यो । अझैपनि विश्वकप चलिहरेकाले यस विषयमा नेपालले बोल्नु आवश्यक छ । संयोगवश डिसेम्बर १८ अर्थात विश्व आप्रवासी दिवसकै दिन विश्वकप फुटबलको फाईनल प्रतिष्पर्धा हुँदैछ । यो अवसरमा नेपाल सरकारले ज्यान गुमाउने आफ्ना नागरिकका विषयमा आवाज उठाउनु जरुरी छ ।