धरान त आकाशबाट नीलो पो देखिँदोरहेछ !

Leave a comment

Dhara-paragalaiding-11

गोपाल दाहाल

‘धरानको आकाशमा तपाईं पनि उड्ने हो ? हामीले तपाईलाई उडाउने विचार गरिरहेका छौं ।’ निर्मल आचार्य दाइले यस्तो प्रस्ताव राख्दा सुरुमा त बुझिनँ । रोशन अधिकारी दाइले प्रष्ट पार्नु भयो ‘अब भेडेटार-धरानमा पनि पोखराको जस्तै प्याराग्लाइडिङ सुरु हुने भयो, उद्घाटनको दिन उड्न मन भए आउनुस् ।’

केही महिनाअघि पूर्वमा साहसिक पर्यटनको आकर्षण र सम्भावनाका विषयमा समाचार लेख्दा उहाँहरुसँग प्याराग्लाइडिङको बिषयमा लामो कुरा भएको थियो । पूर्वी नेपालमा पहिलोपटक आफुहरुले व्यवसायिक रुपमा प्याराग्लाइडिङ सुरु गर्न कम्पनी दर्ता गराएको र भूकम्पका कारण सुरु गर्न ढीला भइरहेको निर्मल दाइले बताउनुभएको थियो ।

त्यही प्याराग्लाइडिङ दसैंको मौकामा उडान सुरु गरिने भएपछि निम्ता दिनुभएको थियो । ‘पूर्वमा पहिलो चोटि व्यवसायिक उडान हुँदैछ, कतिको गाह्रो होला ? कतै भुइँमा पछारियो भने त गइयो !’ यस्तै सोच आयो । तर, डराई डराई ‘हुन्छ’ भनियो ।

उद्घाटनको अघिल्लो दिन परीक्षण उडान गरिने भयो । केही साथीहरुसँगै म पनि उड्न भनेर पुगें भेडेटार नजिकैको छोटीमोरङ डाँडामा ।

तर, पाँचवटा मात्रै टेन्डम थिए, प्याक भइसकेछ । ठिकै छ, पछि उद्घाटनकै दिन उडौंला भनेर फर्किएँ ।

भोलिपल्ट अर्थात असोज २४ गते नेपाल हवाइ खेलकुद संघका केन्द्रीय उपाध्यक्ष सोभित बानियाँ, ९ वर्षीया प्रतिजा अधिकारी र पाइलटहरु प्रेम केसी, माधव दाहाललगायतसँग धरान ४ स्थित ‘धरान स्काई एड्भेन्चर प्रालि’को कार्यालयबाट भेडेटारतर्फ लागियो ।

छोटी मोरङ डाँडा पुगेपछि मलाई पाईलट प्रेम केसीले उडाउने भए । उनले एउटा ठूलो झोला जस्तो जिउमा भिरिदिएपछि मलाई टेन्डम छेउमा उभ्याए । अनि आफुले इसारा गरेपछि दौडिएर भीरतिर हाम्फाल्न लगाए ।

भीरमा फालहान्नुपर्ने ? मनै सिरिङ्ग भयो । तै पनि चरा झैं उडेर मज्जा लिने पहिलादेखिको चाहना पूरा हुँदै थियो । चुपचाप बसें ।

हावाको गति विचार गरेपछि प्रेमले अघि भनेझैं दौडिन इसारा गरे । म अघिअघि दौडिएँ र भीरबाट फाल हानें । प्याराग्लाइड फुकेर माथि उड्यो, प्यारासुटझैं ।

अनि हामी हावामा तैरिंदै भीर, खोला र जंगलको माथिमाथि उड्न थाल्यौं । प्रेम रमाईला मानिस रहेछन्, उनले ल गीत गाऔं भन्दै सुरु गरे ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो….’ मैले पनि स्वर थपें ।

म डराउँछु भनेर होला उनले धरानको गीत गाऔं भने । मैले ‘धरानको बजारमा, माया बस्यो एकै नजरमा…’ गाएँ उनले स्वर थपे ।

माथि माथि जाँदा हावाले प्यारासुट हल्लाउँथ्यो । त्यसबेला घरिघरि मनै सिरिङ्ग हुन्थ्यो ।

गाउँदै अनि फोटो र भिडियो खिच्दै माथिमाथि पुग्दा विजयपुरमाथिको हरियो जंगल देखियो, त्यसपछि फुस्रेको आर्मी क्याम्प, धरान त माथिबाट नीलो पो देखिँदो रहेछ ! छानाभरि नीलो टीन टल्किएको देखिन्थ्यो । बाटोहरु देख्दा नक्सा हेरेजस्तै लाग्यो । माथिबाटै नियालें, वीपी प्रतिष्ठान, महेन्द्र क्याम्पस, घण्टाघर, फुटबल ग्राउण्ड !

हवाइजहाजबाट निक्कै तलतल सानासाना घरहरु देखिन्छन् । तर, प्याराग्लाइडिङबाट नजिकै ठूला-ठूला घरहरु देखिँदा रहेछन्, प्रष्टसँग । चराले सायद यस्तै देख्दो हो !

करिब २५ मिनेट उडेपछि धरान १६ को सर्दु खोला किनारमा पर्ने नौलोवस्तीमा अवतरण गर्न लाग्दै थियौं हामी । प्रेमले भने ‘हावा उल्टो गतिबाट आइरहेछ अलि समस्या पर्न सक्छ, तपाई खुट्टा माथि गर्नुस् ।’ मैले उनले भनेझैं गरें । उनले अवतरण गर्ने ठाउँमा लैजान खोजे । तर, हावाले साथ दिएन । मलाई डर लाग्यो ।

त्यसपछि खोलामै झर्ने भइयो । उनले खुट्टा टेक्न आग्रह गरे । मैले टेक्नै नपाई ग्लाईड भुईमा झरेछ, म हल्का पछारिएँ । तर, रमाईलो भयो ।

हामीलाई हेर्न सुकुम्बासी वस्तिका केटाकेटी, बुढाबुढी अघि नै जम्मा भइसकेका रहेछन् ।

हावामा कावा खाँदै चराझैं माथि आकाशमा उड्न पाए कस्तो मज्जा हुन्थ्यो होला ? म वाल्यकालदेखि यस्तै सोच्थें । केही वर्षअघि पोखरा जाँदा आकाशमा रंगीचंगी चङ्गा उडेझैं देखेको थिएँ । आहा ! कस्तो गजबको चङ्गा भनेर सोच्दा सोच्दै त्यसमा तुन्द्रुङ्ग मान्छेहरु झुण्डिएको देखेपछि अचम्म लागेको थियो । तर, आफुलाई चाहिँ उडीहाल्ने अवसर जुरेको थिएन । यसपटक आफ्नै ठाउँ धरानको आकाशमाथि कावा खाँदै रमाइलो गर्दै उड्न पाइयो ।

पहिला दशैंमा ‘भूईं छाड्नु पर्छ’ भन्दै बुढापाकाहरु पिङमा मच्चिन उक्साउँथे । अचेल सहरमा लिंगेपिङ हराउन थाल्यो । त्यसैले तर, दशैंमा प्याराग्लाइडिङ गरेर भूईं छाडियो । अनि केही छिनका लागि आकाशमै रमाइयो ।

dharan-paragalaiding-22

यस वर्ष वैशाख १२ को भूकम्पले दिएको पीडा अनि भर्खरै मधेसमा भएको आन्दोलन र भारतीय नाकाबन्दीले दिएको दुःखले निराश भएका सर्वसाधारण नाका खुलेर जनजीवन सहज हुन थालेपछि पीडा भुल्दै रमाइलो मनाउने मुडमा छन् । यस्तो रमाइलोका लागि सबैभन्दा रौनक चाहिँं भेडेटारदेखि धरानसम्मको प्याराग्लाइडिङले ल्याउँदैछ । आगामी सातादेखि सर्वसाधारणका लागि प्याराग्लाइडिङ सेवा सुरु गर्ने तयारीमा सञ्चालकहरु लागिपरेका छन् ।

धरान स्काई एड्भेन्चर प्रालिले पूर्वमै पहिलोपटक धनकुटाको भेडेटारस्थित छोटीमोरङबाट धरान १६ नयाँवस्तीसम्म व्यवसायिक रुपमा प्याराग्लाइडिङ सुरु गर्दैछ । ६ वटा टेन्डम उडाउने अनुमति लिएको प्रालिले हाल ५ हजार ५ सय रुपैयाँमा करिब २५ मिनेट उडाउने बताएको छ ।

उडानका क्रममा धरानको ७० प्रतिशत भागसँगै इटहरी र तराईको समथर फाँटको दृष्यावलोकन गर्न सकिने प्यारा पाइलट प्रेम केसीले बताउँछन् ।

पोखरामा लामो समयदेखि प्याराग्लाइडिङ उडाइरहेका लाइसेन्स प्राप्त पाइलटहरु प्रेम केसी, माधव दाहाल, अशोक पराजुली, सरोज थापा र रविन्द्र थापाले धरानमा सेवा दिने छन् । उनीहरुका अनुसार धरानमा दृश्यावलोकन राम्रोसँग गर्न सकिन्छ । हरिया डाँडाकाडासँगै धरानको रमाइलो वस्ती हेर्दै उड्न पाउँदा सबै मख्ख पर्छन् ।

अर्का सञ्चालक निर्मल आचार्यका अनुसार प्रालिले केही समयपछि भेडेटारको नाम्जेमा बञ्जिजम्प पनि सुरु गर्ने तयारी गरिरहेको छ । उनी भन्छन् ‘अहिले प्याराग्लाइडिङसँगै घोडा सवारी पनि सञ्चालन गरेका छौं, तर प्याराग्लाइडिङमा पूर्वेलीहरुको बढी आकर्षण छ ।’

सुरुमा प्याराग्लाइडिङ विदेशी पर्यटकका लागि मात्रै लक्षित थियो । पोखरामा पहिला-पहिला नेपालीहरु प्याराग्लाइडिङ गर्न डराउँथे । विस्तारै नेपालीहरु पनि आकाशमा चरा जस्तै उड्दै रमाउन जान्ने भए ।

अहिले भूकम्प र नाकाबन्दीपछि बाहिरी पर्यटकहरु कम भएकाबेला प्याराग्लाइडिङ नेपालीहरुले नै धानेका छन् । त्यसैले अबका दिनमा प्याराग्लाइडिङ आन्तरिक पर्यटकले पनि धान्न सक्ने अवस्था बनेको नेपाल हवाई खेलकुद संघका केन्द्रीय उपाध्यक्ष सोभित बानियाँ बताउँछन् ।

अहिले देशभर ४० भन्दा बढी कम्पनीले प्याराग्लाइडिङ गराइरहेका छन् । करिब २ सय पाइलट यस क्षेत्रमा रोजगार छन् । उनका अनुसार अहिले धेरै पाइटल नेपालीहरु नै छन् र पर्यटक पनि नेपाली नै छन् ।

देश नै डाँडाकाँडाले भरिएको हुँदा नेपालमा सबैतिर प्याराग्लाइडिङ गर्न सकिन्छ । ‘प्याराग्लाईडिङले पूर्वका वासिन्दाले रमाईलो मात्र होइन, भारतदेखिका पर्यटकलाई उडाएर राम्रो आम्दानी पनि गर्न सकिन्छ भन्छन् पूर्वी नेपालका पर्यटन व्यवसायीहरु ।

२०७२ चैत ६ गते १९:२९ अनलाइनखबरमा प्रकाशित

रङ्गविहीन धराने रङ्गमञ्च

Leave a comment

धरानलाई अहिले पनि धेरैले ‘कलाकारको शहर’ भनेर चिन्छन् । ‘धरानका घरघरमा कलाकार छन्’ भन्ने गरिन्छ । धरानको यो छवि त्यही बेलाको रङ्गमञ्चले निर्माण गरेको हो तर अहिले धराने रङ्गमञ्च रङ्गविहीन बनेको छ ।

alt

  •  गोपाल दाहाल

‘धरानका हलहरूमा टिकट काटेर नाटक हेर्नेहरूको भीड हुन्थ्यो । एकै दिन दुई–तीनवटासम्म नाटक प्रदर्शन हुन्थे । यो कुरा सुनाउँदा अहिलेका पुस्ता एकादेशको कथाजस्तो मान्छन् ।’ त्यस बेलाका सक्रिय रङ्गकर्मी विनोद श्रेष्ठ तँखाछेको भोगाइ हो यो ।

पहिले धराने रङ्गमञ्चको माहोल नै बेग्लै थियो । नाट्य संस्थाहरूबीच कसले राम्रो नाटक मञ्चन गर्ने भनेर प्रतिष्पर्धा नै चल्थ्यो तर अहिले धरानको रङ्गमञ्च तँखाछेले भनेजस्तै एकादेशको कथाजस्तो भएको छ । धरानलाई अहिले पनि धेरैले ‘कलाकारको शहर’ भनेर चिन्छन् । ‘धरानका घरघरमा कलाकार छन्’ भन्ने गरिन्छ । धरानको यो छवि त्यही बेलाको रङ्गमञ्चले निर्माण गरेको हो तर अहिले धराने रङ्गमञ्च रङ्गविहीन बनेको छ । रङ्गमञ्चका गतिविधि घट्दा धरानको पुरानो छवि मेटिँदै छ । रङ्गकर्मी तँखाछे भन्छन्, ‘नयाँ पुस्तालाई ल्याउन नसक्दा धराने रङ्गमञ्चको भविष्य पनि राम्रो देखिँंदैन ।’

धरान उपमहानगरपालिका (तत्कालीन नगरपालिका) ले शतवार्षिक महोत्सवका अवसरमा २०५७ सालमा प्रकाशन गरेको स्मारिका ‘धरान दर्पण’ मा उल्लेख भएअनुसार धरानमा वि.सं. १९९६÷९७ देखि साँस्कृतिक कार्यक्रम हुने क्रम शुरु भएको हो । त्यस बेला धरानको अमरहाट (हालको कृषि बजार) मा लाग्ने हाटमा सुन्तला, अदुवाजस्ता उत्पादन बेच्न पहाडबाट झरेकाहरूले राति मादल बजाउँदै गीत गाएर र नाचेर रमाइलो गर्थे । धरानको सार्वजनिक ठाउँमा नाचगान र रमाइला कार्यक्रमको थालनी त्यसै बेला भयो । धराने रङ्गमञ्चको जग पनि त्यही थियो ।

वि.सं. २००४ सालतिर धरानका विभिन्न ठाउँमा हिन्दी नाटक मञ्चन हुने क्रम चल्यो । २००७ सालको क्रान्तिपछि भने धराने रङ्गमञ्चमा पनि क्रान्ति आयो । अर्थात् त्यसपछि भीमनिधि तिवारी, हर्कबहादुर शाहीलगायतका नेपाली नाटक धमाधम मञ्चन भए । धरानमा २००८ सालमा मञ्चित भीमनिधि तिवारीको नाटक ‘जीवनज्योति’ पहिलोपटक दर्शकले टिकट काटेर हेरेका थिए । २०१० सालदेखि भने धराने कलाकर्मीकै लेखन, निर्देशनमा नाटक प्रदर्शन शुरु भए । त्यस बेला चन्द्रशेखर श्रेष्ठ, अहिलेका वरिष्ठ गीतकार कालिप्रसाद रिजाल, इन्द्रबहादुर थापा, शिवशङ्कर थापालगायत रङ्गकर्ममा सक्रिय भए । त्यसपछिका दिनमा वसन्त थापा, गोविन्द विकल, हालका गायक दीप श्रेष्ठ, रमाकान्त खनाल, रामचन्द्र बनेपालीलगायत सक्रिय रङ्गकर्मी थिए ।

२०१५ सालसम्म धरानको रङ्गमञ्चमा पुरुषहरू मात्र आउँथे । उनीहरूले नै महिलाको कपडा लगाएर अभिनय गर्थे । त्यस बेलाको समाजमा महिलाहरू रङ्ग क्षेत्रमा आउनुलाई राम्रो मानिँदैनथ्यो । २००८ सालमा सुलोचना राई र कलावती राईले आँट गरेर मञ्चमा नाच्दा संस्कृति बिग्रियो भनेर धेरै विरोध भयो तर समय बदलिँंदै जाँदा महिलाहरू पनि नाटकमा आउन थाले । २०२० सालबाट भने धरानमा रङ्गकर्म गर्ने संस्थाहरू स्थापना हुन थाले । त्यस बेला लोकनृत्य सङ्घ, सांस्कृतिक संस्थान, फ्रेन्ड्स क्लब, नयाँ लहरजस्ता संस्था स्थापना भएको विभिन्न दस्तावेजहरूमा पाइन्छ ।

पञ्चायतकालको त्यो समयमा धरानको कलाकारिता काठमाडौंसम्म पनि चर्चित थियो । वरिष्ठ गायक दीप श्रेष्ठका अनुसार २०२५ साल पुस १ गते पञ्चायत स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा धरान साँस्कृतिक संस्थानको टोलीलाई पनि काठमाडौं निम्त्याइएको थियो । तत्कालीन राजा महेन्द्रलाई नाटक देखाउन गएको टोलीले काठमाडौंंको राष्ट्रिय नाचघरमा नाटक मञ्चन गरेको थियो । त्यसै बेला धराने टोलीबाट गएका दीप श्रेष्ठले खाली समयमा दुईवटा गीत सुनाएका थिए । गायक दीप सम्झिन्छन्, ‘मैले गीत सुनाएपछि राजा महेन्द्रले मन पराएछन् । भोलिपल्टै रेडियो नेपालमा गीत रेकर्ड गर्ने अवसर पाएँ । त्यस बेलाको सक्रिय धराने रङ्गमञ्चकै कारण म गायनमा स्थापित हुन सकेँ ।’

२०२६ सालमा धरानमा जनजागृति क्लब स्थापना भयो । त्यसले अर्को वर्षदेखि धरानबाहिरका गाउँहरूमा समेत नाटक प्रदर्शन ग¥यो । त्यसपछि २०४२ सालतिर धनकुटाका अशेष मल्लको लेखन, निर्देशन र अभिनयमा धरानमा सडक नाटक मञ्चन भयो । त्यस समयमा धराने रङ्गमञ्चमा प्रेम सुब्बा, राजकुमार मादेन, शारदा शाक्य, शशी थापा सुब्बा, तपन तरफदारलगायतको समूह सक्रिय थियो । त्यस्तै शारदा सुब्बा, गिरिराज आचार्य, मिलन बान्तवा, इन्द्र बज्राचार्यलगायतले लेखेका नाटक चर्चित थिए । अभिनेतृ शान्ति मास्के धरानकै रङ्गकर्मी थिइन् । गायिका तथा नायिका पवित्र सुब्बा, मोडल कला सुब्बालगायत धरानको रङ्गमञ्चबाटै माथि उठेका हुन् ।

२०४४ देखि ०४८ सालबीचमा धरानमा नाट्य संस्था खुल्ने बाढी नै चल्यो । त्यही बेला अनाम, आरम्भ, समर्पण, सृजना, शृङ्खला, अनुराग, छिमेकी, मोकशुरा, शंकर, सहारा, सरगम, सृष्टि, हाम्रो नाट्य जमातलगायतको स्थापना भयो । त्यसैताकाका नवकला साहित्य प्रतिष्ठान, पराग परिवार, प्रभा युवा क्लब, सृजना साँस्कृतिक परिवार, साँगुरी परिवार, चिराग परिवार, हिमायती परिवारलगायतले पनि धमाधम नाटक र साँस्कृतिक कार्यक्रम गर्थे ।

त्यस समयमा हालका फिल्म निर्देशक नवीन सुब्बा, सुरज सुब्बा, लेखक रमेश केसी, कलाकार प्रेम सुब्बा, आशा मगराती, सुवास थापा, राजेन्द्र रिमाल, सुवास अधिकारी, गोपाल देवान, विनोद श्रेष्ठ, सौगात रिजाल, नवीन मेन्याङ्वोलगायत सक्रिय थिए । नवीन, सुरज, पवित्र, कला, आशा, चलचित्रका निर्देशक र कलाकार भएर काठमाडौं भासिए भने रमेश बिरामी भए । कोही विदेश गए, कसैले अरू नै व्यवसाय अँगाले । फिल्म तथा टेलीभिजनको बढ्दो प्रभाव अनि नाटकमै लागेर जीवनयापनको सम्भावना नभएपछि रङ्गकर्मीहरू टिकिरहन सकेनन् र २०५० को दशकमा नाट्य संस्थाहरू धमाधम बन्द हुन थाले ।

धरानका सबैजसो नाट्य संस्था बन्द हुँदा पनि अनाम नाट्य जमात भने सक्रिय थियो । अनामले देशमा मात्र होइन, हङकङ, कोरिया, चीनलगायतसम्म पुगेर नाटक प्रदर्शन गर्न थाल्यो । अनाममा आउन थालेका अवसर र विदेश यात्राकै कारण यसको नेतृत्वमा मनमुटाव भयो । ससाना कुरामा झगडा भएपछि अनाम दुई टुक्रा भयो । त्यसपछि संस्थापन पक्ष निष्क्रिय बन्दै गयो भने टुक्रिएर बनेको अनाम एकेडेमीले केही समय सडक नाटक प्रदर्शन गर्यो ।

६० को दशकमा आइपुग्दा अनामले एनजीओ, आइएनजीओबाट सहयोग पाउन थाल्यो । सडक नाटकका लागि करिब ५८ लाख रुपैयाँको परियोजना आएपछि अनाम फेरि एक भएर जुट्यो तर भावनात्मक रूपमा भने एक हुन सकेन । त्यसपछि परियोजना अवधि नसकिँदै पुनः विभाजित भयो । त्यसपछि मुद्दा अदालतसम्म पुग्यो । अहिले अनाम बेनाम छ । तत्कालीन अनामका कार्यकारी निर्देशक राजेन्द्र रिमाल भन्छन्, ‘काम गर्नेभन्दा लोभ गर्नेहरू धेरै हुँदा अनाम टुक्रियो । जुटाउने प्रयास गरेका हौँ तर पनि समस्या सकिएन ।’

पहिला रङ्गकर्मीहरू धेरै दुःख गरेर आफ्नै खर्चमा नाटक प्रदर्शन गर्थे । विस्तारै एनजीओहरूले सडक नाटकका नाममा पैसा दिन थाले । शुरुमा यसले रङ्गकर्मीलाई आत्मनिर्भर बनाउन मद्दत गर्ने आशा जागेको थियो तर त्यसले नकारात्मक असर ग¥यो । पहिला उल्टै पैसा खर्च गरेर नाटकमा सक्रिय हुनेहरूले अहिले पैसाबिना नाटक नै गर्न छाडे । त्यसपछि नाट्य गतिविधि झनै सुस्ताए ।

रङ्गकर्मी पलायन, रङ्गमञ्च रित्तो
धरानको नाट्य क्षेत्रमा एक समय शशी थापा सुब्बा निक्कै सक्रिय थिइन् । धरानको नाट्य तथा नृत्य होस् वा फिल्म क्षेत्रमा शशीको सक्रियता उस्तै थियो । धरानको कला क्षेत्रमा अनाम नाट्य जमातमा सक्रिय शशीको आफ्नै प्रतिष्ठा थियो, समाजमा बेग्लै पहिचान थियो । तर त्यो पहिचान र प्रतिष्ठा सबै छाडेर अहिले उनी सपरिवार बेलायतमा छिन् । धरानलाई छाडे पनि रङ्गकर्म भने नछाडेको तर्क छ शशीको ।

सुवास अधिकारी र सोमा थापा धरानको नाट्य क्षेत्रमा जमेका जोडी थिए । रङ्गमञ्चमै सक्रिय रहँदा उनीहरूको प्रेम सम्बन्ध स्थापित भयो । रङ्गमञ्चसँगै जीवनयात्रा अघि बढाउने वाचा गरेर विवाह गरेका उनीहरूले सृष्टि नाट्य समूहमार्पmत् राम्रा नाटक प्रदर्शन गरे । उनीहरूका नाटकले राष्ट्रियस्तरमै पुरस्कार पाउँथे तर उनीहरू दुवैजना धेरै वर्ष आपूmले खेलेको रङ्गमञ्च त्यागेर अहिले स्वीडेनमा छन् । स्वीडेनमै बेला–बेलामा नाटक मञ्चनसमेत गर्ने गरेका सुवास–सोमा पनि आफूहरू विदेशमा भए पनि रङ्गकर्म नछाडेको बताउँछन् ।

सुवास थापा धराने रङ्गमञ्चका अर्का सक्रिय कलाकार थिए । धेरै नाटक र फिल्ममा समेत अभिनय गरेका सुवास रङ्गकर्मबाट जीवनयापन गर्न नसकेपछि हङकङ भास्सिए । अहिले उनी बेलायततिर लाग्ने योजनामा छन् । एक समय धरानका सक्रिय रङ्गकर्मी जसकुमार राई अहिले अमेरिकामा छन् । पुराना रङ्गकर्मी प्रेम सुब्बा अहिले फिल्ममा व्यस्त छन् । नवीन सुब्बा, सुरज सुब्बा नाल्बोलगायतका एक समयका सक्रिय रङ्गकर्मी अहिले फिल्ममा सक्रिय भए पनि नाटकमा निष्क्रिय छन् ।

केही वर्षअघिसम्म धरानमा सक्रिय रङ्गकर्म गरिरहेका राजेन्द्र रिमाल र अल्पना कमाचार्यको जोडी अहिले काठमाडौँमा होस्टल सञ्चालन गरिरहेको छ । धरानमै रहेका विनोद श्रेष्ठ, मदन गुप्ता, हिमाल दाहाललगायत व्यापार–व्यवसायमा सक्रिय छन् । त्यस बेलाका सक्रिय रङ्गकर्मी सुवास थापा भन्छन्, ‘रङ्गमञ्चमा रहर र केही गरौँ भन्ने जोश हुँदासम्म धरानका लागि भनेर काम गरियो तर हाम्रो यो कामलाई सरकारले वा स्थानीय निकायले आप्mनो ठानेनन्, कतैबाट सहयोग नपाएपछि मन नलाग्दा नलाग्दै पनि यो क्षेत्रबाट टाढिनु प¥यो तर अभैm छाड्न सकिएको छैन ।’

स्थानीय तह र राज्यले रङ्गकर्मलाई व्यवसायिक बनाउन सहयोग नगरेपछि पलायन हुनुपर्ने अवस्था आएको उनीहरू बताउँछन् । धरानको रङ्गकर्मलाई नजिकबाट बुझेका पत्रकार अनुशील श्रेष्ठ रङ्गमञ्चमा व्यवसायिकता खोज्न नसक्नु र पुराना रङ्गकर्मीले नयाँ पुस्ताका रङ्गकर्मी जन्माउन नसक्नु नै धरानको रङ्गमञ्च सुस्ताउनुको कारण मान्छन् । उनी भन्छन् ‘पहिला धरानलाई रङ्गकर्ममा देशकै उर्वर भूमि मानिन्थ्यो तर अहिले देशका अन्य भागमा रङ्गकर्म व्यवसायिक बनिसक्दा धरानका रङ्गकर्मी पलायन हुनुपर्ने अवस्था आयो । यसमा राज्यको त दोष छँदैछ, स्वयम् रङ्गकर्मीहरूको पनि दोष छ ।’

केही आशा, केही निराशा
धरानको रङ्गमञ्च निष्क्रिय बनेका बेला केही वर्षअघि काठमाडौंमा अभिनय प्रशिक्षण लिएर आएका युवा विष्णु मोक्तानले रङ्गभूमि एकेडेमी स्थापना गरेर नाटक मञ्चन शुरु गरे । उनले एकेडेमीमा तालिम दिएका विद्यार्थीहरू र केही पुराना रङ्गकर्मीलाई समेटेर मञ्चन गरेको नाटक ‘अब टाउको कहिले हल्लिन्छ’ तीन दिनसम्म चल्यो । त्यसपछि गत वर्ष विष्णुले नै अर्को नाटक ‘इङ्घङ’ २२ दिनसम्म प्रदर्शन गरे । विष्णुले नाटकमा अभैm पनि सम्भावना रहेको देखाएपछि सुस्ताएका पुराना नाट्य संस्था पनि जाग्न थालेका छन् ।

विष्णुले पहिलो नाटक प्रदर्शन गरेपछि पुरानो नाट्य संस्था आरम्भ पनि जाग्यो । २०४५ सालमा स्थापना भएको आरम्भ नाट्य समूहले २०५७ सम्म सक्रियतापूर्वक नाटक मञ्चन गरेको थियो तर यसका सदस्यहरू लाखापाखा लागेपछि निष्क्रिय बनेको संस्था पुनर्गठनपछि आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएका योजना यस्ता थिए, ‘नयाँ पुस्तालाई प्रशिक्षण दिने, महिनामा एउटा नाटक मञ्चन गर्ने, नाटक सङ्ग्रह प्रकाशित गर्ने, पहिला जस्तै नाटकको माहौल बनाउने’ ।

आरम्भका अध्यक्ष गोपाल देवानले भनेका थिए, ‘अब धरानलाई रङ्गकर्मको बेसक्याम्प बनाएर राष्ट्रिय रङ्गमञ्चको सगरमाथा आरोहण गर्छौं ।’ केही वर्षयता आरम्भले प्रशिक्षण र नाटक मञ्चनका कार्यक्रम गरिरहेको छ तर दुई दशकअघिकै शैली छाड्न नसक्दा आरम्भको कामले गति लिन सकेको छैन । आरम्भसँगै पुनः जागेको सहारा नाट्य समूहले एउटा राम्रो नाटक मञ्चन ग¥यो तर त्यसपछिका दिनमा निरन्तर सक्रिय बन्न सकेन । धरान उपमहानगरपालिकाले धरानको कला, साहित्यको विकासका लागि भनेर ‘धरान प्रज्ञा प्रतिष्ठान’ गठन गरेको छ तर त्यसले पनि यस्ता कुरामा ध्यान दिन सकेको छैन । प्रज्ञा प्रतिष्ठान सानातिना नृत्य र आर्ट प्रतियोगितामा रमाइरहेको छ । प्रतिष्ठानका सदस्यसमेत रहेका विनोद तँखाछे भन्छन्, ‘प्रतिष्ठान बन्दा धरानको कला क्षेत्र फेरि जाग्छ भन्ने आशा गरेको थिएँ तर त्यहाँ काम गर्दा निराश भएँ । साथीहरू पुरानै ढर्रामा चल्न थाले, मलाई जानै मन लाग्न छाड्यो ।’

नाट्यकर्मी महासङ्घका महासचिवसमेत रहेका धराने रङ्गकर्मी राजेन्द्र रिमाल भन्छन्, ‘पुराना नाट्य संस्था जागे पनि अहिलेको विकसित नाट्यशैली र प्रविधि बुझ्न नसक्दा धरानको रङ्गकर्मले गति लिन सकेको छैन ।’ धरानको निष्क्रिय रङ्गमञ्च जगाएको श्रेय पाएका विष्णु मोक्तान धरानको रङ्गमञ्च फेरि जाग्ने विश्वास व्यक्त गर्छन् । ‘धरानको रङ्गमञ्च सुस्ताएको देखेर केही गर्नुपर्छ भन्ने सोंचले मञ्चन थालेका छौँ । यसलाई निरन्तरता दिन्छौँ’, उनी भन्छन्, ‘धरानमा अहिले पनि रङ्गकर्म बुझ्ने माहोल छ तर नाटक मञ्चन गर्ने ठाउँ छैन । स्थानीय सरकारले सहयोग गर्ने हो भने पहिलाजस्तै माहोल बन्न सक्छ । यसैबाट व्यवसायिक बन्ने दिन आउँछ । त्यसका लागि उपमहानगरपालिकाले रङ्गकर्मीसँग छलफल गरेर योजना बनाउनु आवश्यक छ ।’

 असार १८, २०७६ मा ब्लाष्टमा प्रकाशित

धरानमा बाईक स्टण्ट क्रेज

Leave a comment

मोटरसाईकल दुई पाङ्ग्रा टेकेर भुईमा गुड्ने साधन हो तर अचेल यसलाई एकपाङ्ग्रा टेकेर अनि अर्को पाङ्ग्रा भुई छाडेर उडाउने चलन बढेको छ । धरानका युवा जोन श्रेष्ठ मोटरसाईकललाई कहिले अगाडिको पाङग्रा उठाएर कुदाउछन् त कहिलेपछाडि उठाएर । अनि कहिले सानो ठाउँमा फनफनी घुमाएर अरुलाई चकित पार्छन् । सहरी क्षेत्रका युवाहरुको क्रेज बनेको मोटरसाईकल उडाउने घुमाउने खेललाई बाईक स्टण्ट भनिन्छ ।

धरानको विष्णु मेमोरियल उच्च माविबाट कक्षा १२ को परिक्षा दिएर बसेका जोन यामाहाको वाईजेटएफ आर फिफ्टिन मोटरसाईकल लिएर साथीहरुसँग बाहिर निस्किन्छन् अनि “बाईक स्टण्ट” गर्न पुगि हाल्छन् । More

डान्समा चान्स

Leave a comment

त्यो बेला रमाईलोका रुपमा हेरिने “नाच” अब विस्तारै पेशा नै बन्दैछ । अर्थात अहिले धरानमा “चान्समा डान्स” होईन “डान्समा चान्स” आएको छ

-गोपाल दाहाल
कहिले विद्यार्थी कहिले शिक्षक कहिले डान्सर । धरान १५ निराजनवस्तिकी अाजु राईको वास्तविक दैनिकी नै अभिनय जस्तो बद्लिरहनु पर्ने खालको छ । आफैं प्लस टु पढ्दै गरेकी अाजु एकैदिनमा बोर्डिङ स्कुलका विद्यार्थीलाई डान्स सिकाउन पनि पुग्छिन् कार्यक्रममा आफैं डान्स गर्न पनि र डान्स सेन्टरमा सिकाउन पनि । स्टेज प्रोग्राम टे्रेनिङ र म्युजिक भिडियोमा भ्याई नभ्याई छ उनलाई । अाजुलाई व्यस्त बनाएको छ डान्सले ।

साल्सा हिपहप हो वा क्लासिकल मज्जाले नाच्ने अाजु धरानमा मात्र होइन पुर्वका विभिन्न जिल्लामा डान्सकै दौडिरहेकी हुन्छिन् । यसैबाट राम्रै आय पनि भएको उनलाई । सन्ध्या श्रेष्ठ, रेश्मा राई, साजन गुरुङ, दिवस श्रेष्ठको पनि व्यस्तता बढेको छ अचेल ।

धरानको डान्स पुर्वमै नामी छ । डान्स गर्नकै लागि उनिहरु कहिले ईटहरी कहिले विराटनगर त कहिले जनकपुर पुग्छन् । कुनै समय डान्स गर्नु केवल रमाईलोका लागि मात्र सोचिन्थ्यो । “चान्समा डान्स” भने झैं डान्स केवल मेला चाड-पर्ब विवाह जस्ता अवसरमा मात्र गरिन्थ्यो । समय कहाँ सधै एकनाशको हुन्छ र । धेरै कुरा बद्लिए समय पनि बद्लियो अनि त्यो बेला रमाईलोका रुपमा हेरिने “नाच” अब विस्तारै पेशा नै बन्दैछ । अर्थात More

धरानको मोडलिङ रहरको भर

Leave a comment

देशमै “फेसनेवल” र “मोडलहरुको शहर” भनेर चिनिन्छ धरान । धरानमा बाहिर चर्चा भएजस्तै मोडलहरु नभएका पनि होइनन् । तर राम्रो सम्भावना बोकेका धराने मोडलहरु ुकरियर बनाउनु अन्तै गएपछि धरानको मोडलिङ एकादेशको कथा जस्तै भएको छ।

मोडलिङमा चर्चा कमाईरहेकाहरु मध्ये कोहि अझ प्रगति गर्न भन्दै काठमाण्डौ पसे कोहि हङकङ र िसंगापुर गए भने कोहि चािहं विवाह गरेर सधैंकालागि मोडलिङबाट अलग भए । सम्भावना भएकै केहि मोडल चािहं मिडिया र अन्य क्षेत्रतिर लागेका छन् । More

धरान बदल्दै युवाहरु

Leave a comment

-गोपाल दाहाल
ड्रग्स, दादागिरी, काटमार, कुनै समय धरानको परिचयसँगै गासिने कुरा थिए यि । जसका कारण धरानका युवा बारे देशका अन्य ठाउमा “व्याड इमेज” थियो । कतिसम्म भने “धरानका केटा” भनेपछि काठमाण्डौमा डेरा पाउनपनि समस्या थियो ।

हो केहि हदसम्म त्यस्तैपनि थियो धरान तर अहिले कथा फेरिएको छ । पहिला आफैं लागुऔषध र झैझगडामा लागेर धरानलाई बद्नाम बनाउन सहयोग पुर् याउनेहरुदेखि देशविदेश घुम्दा धराने भएकैले नराम्रो नजरमा परेका युवापुस्ता अहिले धरानको त्यो “खराब पहिचानु मेटाउने अभियानमा जुटेका छन् । ”
More

घुम्न आउँनुस् धरान…..

Leave a comment

-गोपाल दाहाल

हिजोआज धेरै जसो धरानेहरुको फोन नम्बर डायल गर्दा ‘घुम्न जाउँ धरान..’, ‘ बजारै भरौं न धरान..’ जस्ता धरानका बारेमा गायिएका गीतहरु रिङब्याक टोनमा बज्छन् । त्यसो त यतिबेला धरानमा जताजतै ‘घुम्न जाउँ धरान’ लेखिएका पोष्टहरु टाँसिएका छन् ।

यतिबेला धरानवासी नगर सजाउन उत्साह पुवक लागेका छन् । धरान ध्वाजा पताकाले रंगीचंगी पारेर बेहुली झैं चिटिक्क सिंगारिंदै छ । भानुचौकमा रहेको घण्टाघरलाई रंगरोगन गरी विजुलीका झिम्भिमे More

धरानको पर्यटन र ‘ब’हरु

1 Comment

धरानलाई शिक्षा, स्वास्थ्य र पर्यटनको सहर भन्ने गरिएको धेरै भईसक्यो । विगतदेखि यहि नारा लगाउदै धेरै उत्सव, महोत्सवहरु भए र भईरहेका छन् । आगामी माघ १४देखि त धरानमा नगरपालिका स्थापनाको ५० बर्षपुगेको अवसरमा भव्य महोत्सव नै आयोजना गरिने तयारी भईरहेको छ । वास्तवमै धरान शिक्षा, स्वास्थ्य र पर्यटन मात्र होइन अरुपनि धेरै कुरामा देशमै अग्रस्थानमा छ । तर धरानले अहिलेसम्म आफ्ना ति विशेषताहरुलाई पर््रवर्द्धन गर्न सकेको छैन । किनकी पर्यटनका नीति निर्माताले धरानका ति विशेषतालाई चिन्नै सकेका छैनन् ।

नेपाल पर्यटन बर्ष२०११ सुरु भईसक्दा देशका विभिन्न स्थानमा पर्यटन पर््रवर्द्धनकालागि विभिन्न कार्यक्रमहरु भईरहेका छन् । कतै पर्यटन गन्तव्यको खोजी भईरहेको छ त कतै भएका ठाउ“मा नया“ कार्यक्रम आईसकेका छन् । तर धरानमा पर्यटनकालागि के कुरालाई ‘मार्केटिङ’ गर्ने भन्ने अन्यौल अहिलेसम्म कायम छ । More