गोपाल दाहाल (१–१५ माघ २०६७ | 15-29 Jan 2011 काे हिमाल खबर पत्रिकामा प्रकाशित)

जेलमा परेका कतिपयका लागि यो सिर्जनाको थलो बनेको छ भने कतिपयका लागि उदासीको इनार ।
क्षेत्रीय कारागार सुनसरी झुम्कामा जेलजीवन बिताइरहेका युवा कैदीहरू ।

पर्खाल भित्र बास भो, कर्मै शत्रु भएपछि ।

जिन्दगीमा घात भो, घरमै शत्रु भएपछि ।।

सुनसरीको झ्ुम्कास्थित क्षेत्रीय कारागारमा रहेका धरान–१६ का राजु श्रेष्ठले आफ्नै बारेमा लेखेका हरफ हुन्, यी । जेल पर्नुअघि उनलाई गजल के हो थाहै थिएन । ९ वर्षअघि जेल परेपछि मनमा उकुसमुकुस हुन थालेका भावना निकटजनलाई पोख्न नपाउँदा उनले डायरीको सहारा लिए । उनी भन्छन्, “मनका वहले धेरै डायरी भरिएका छन्, १७० वटा त गजल मात्र छन् ।”

आफ्नै श्रीमतीले फँसाएपछि १७ वर्षको जेल सजाय पाएको बताउने राजुको अर्को विलौनापूर्ण हरफ छः

हाँसीखुसी जिन्दगी

विश्वासघातको मारमा प¥यो ।

उज्यालोको प्यासी जीवन

इनारको अँध्यारोमा झ्¥यो ।

पछि सकेको खण्डमा जेल गजल सङ्ग्रह निकाल्ने विचारमा छन्, राजु । भौतिक सुविधा शून्य क्षेत्रीय कारागारको विलासिता नै भनौं, एउटा सानो कोठामा ‘सहयोग बन्दी विकास पुस्तकालय’ छ जसमा २५÷३० वटा पुस्तक र केही पत्रपत्रिका छन् । पढेर समय कटाउन चाहने कैदी–बन्दीहरू त्यही कोठाको सानो बुक¥याक वरिपरि झ्ुम्मिन्छन् र पत्रिकाका विज्ञापन समेत कण्ठ पार्छन् ।

पढाइ–लेखाइमा उच्चाट मान्ने मनकुमार बुढाथोकी माला र पोतेका दानाबाट बुट्टेदार फूल र लाइटरको खोलहरू बनाएर दिन बिताउँछन् । जिन्दगी बिताउनलाई नसोचेको ठाउँ पाउँदा समय कटनीको योभन्दा उत्तम अर्को उपाय नभएको उनी बताउँछन् ।

कारागारमा रहेका १८ देखि २० वर्षका युवाहरूले भने जेल जीवनलाई रुमानी बनाउन त्यही गर्न खोजेका छन्, बाहिर भएका भए जसका लागि फन्को लगाउँथे । अर्थात् उनीहरूले पत्रपत्रिकामा भेटेसम्मका सुन्दरीहरूको तस्बिर काटेर जेलको भित्ता सजाउनेमा सिर्जनशीलता देखाएका छन्, भलै त्यो भित्ता हेरेर टोलाउनु वा त्यसमुनि गिटार बजाउनु र सुत्नुबाहेक अरू उपयोगिता नहुन् ।गितार बजाउँदै एक कैदी । गजल लेख्दै राजु श्रेष्ठ र पोते बुन्दै मनकुमार बुढाथोकी ।

भिन्न ठाउँ, संस्कार, उमेर र बानीबेहोराका मानिस रहेको जेललाई उनीहरूको दिन बिताउने शैलीले विविधता दिएको छ । जीउभरि ट्याटु खोपाएकाहरूको बीचमा झेक्राएरै दिन बिताउनेहरू पनि छन् । घर, आफन्त, साथीभाइ र स्वतन्त्र वातावरणको झ्झ्ल्को बढेर अनायास रोइदिनेहरूको अर्को समूह छ । जेलमा जुनसुकै विधिले समय बिताइरहेका होउन्, सबैको भनाइ एउटै छ, “यस्तो ठाउँमा त शत्रु पनि नपरोस् ।”

झ्ुम्का क्षेत्रीय कारागार यातनागृह जस्तो छैन, तर सुधारगृह जस्तो पनि हुनसकेको छैन । कैदी–बन्दीहरूलाई खेलकुद, मनोरञ्जन र जीवनोपयोगी सीप त टाढाको कुरा औषधि र पानीको समेत अभाव छ । पढ्न चाहनेले पुस्तक र सीप चाहनेले तालिम पाएका छैनन् । यस्तो वातावरणमा ‘खाली दिमाग, शैतानको घर’ हुँदा झ्गडा भइरहन्छ । दुई वर्षअघि जेलजीवन बिताइरहेका युवक अर्जुन तामाङको कुटपिटबाट मृत्यु नै भयो । कारागारलाई साँच्चै सुधारगृह बनाउन चाहे पनि साधनस्रोतको अभावका कारण खुम्चिएर बस्नुपरेको लाचारी जेलर भोजराज रेग्मीसँग छ । उनी भन्छन्, “यी रहरलाग्दा युवकहरूलाई जीवनोपयोगी सीप र परामर्श दिनुछ, तर बजेटको सीमाले हाम्रै हालत ठीक छैन ।”